धनगढी। नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका छन् ।प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको हो ।
भोलि २६ गते ५ बजेचित्र दलको कार्यालयमा स्पष्टीकरण दिनु भनिएको छ । स्पष्टीकरण नदिए वा चित्तबुझ्दो नभए दलको विधान अनुसार कारबाही गर्ने चेतावनी समेत स्पष्टीकरण पत्रमा दिइएको छ ।
एमालेका अध्यक्ष ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो ।तर माधवकुमार नेपाल समूहको बहुमत रहेको संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गर्यो । तीन मन्त्रीले राजीनामा दिए लगतै चार मन्त्री र तीन राज्यमन्त्री लिएर नेपाल समूह प्रदेश सरकारमा कायमै छ ।
मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेपछि एमाले संसदीय दलको बैठक मंगलबार बसेको थियो । बैठकले भट्टको पक्षमा मत दिने निर्णय गरेको थियो ।बैठकमा ओली पक्षका सांसदहरुले विश्वासको मत दिन नहुने भन्दै फरक मत राख्न चाहे पनि बहुमत पक्षले दिएको थिएन ।