लिक्मा (कैलाली), २२ साउन – गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकले कार्यालय सहयोगी (पियन) भर्नाका लागि लिएको घुस काण्डका दिन दुई गुणा र रात चौगुणा बल्झिँदै गएको छ । विद्यालयका प्रधानाध्यापकले नै पियन भर्नाका लागि घुस लिएको एकपछि अर्को गर्दै प्रमाण जुट्न थालेपछि अभिभावक रुष्ट बन्दै गएका छन् भने विद्यार्थी आन्दोलित हुन थालेका छन् ।
प्रधानाध्यापक धनीदत्त भट्टले पियन भर्नामा ३० हजार रुपैयाँ घुस लिएको कुरा छताछुल्ला भएपछि अभिभावक तथा विद्यार्थीहरुले लिक्मा स्कुलमा तालाबन्दी गरेका थिए । तालाबन्दी गरेर आन्दोलन गरेका अभिभावकले वास्तविकता बाहिर नआएसम्म आफूहरूले आन्दोलनमै रहने बताएका छन् । उता कार्यालय सहयोगी पदमा नियुक्ती लिएका कृष्ण चौधरीले पत्रकारहरुसामू भने,‘मलाई प्रधानाध्यापकले सुरुमा दरखास्त गर्दा केही खर्च लाग्छ । परीक्षा दिँदा लाग्ने विषयविज्ञलाई केही खर्च दिनुपर्छ त्यसका लागि तयार हुनु भनेर भनेका थिए, मैले पनि दुई चार हजार खर्च लाग्ला भन्ने सोचेको थिएँ । तर, प्रधानाध्यापकले ३० हजार रुपैयाँ नै मागे । मैले पनि उनले भनेबमोजिम नै पैसा दिएको हुँ ।’
विद्यालय प्राङ्गणमै पुगेका पत्रकारहरुसामु उनले निर्धक्का साथ भने,‘जीवनमा मैले कहिल्यै गल्ती गरिन, तर मलाई भने यसरी फसाइयो, जागिर पनि दिने, घुस पनि माग्ने र अहिले आएर जेल पनि जानुपर्छ भन्दैछन् ।’ घुस काण्डको समाचार बाहिरिएपछि प्रधानाध्यापकले आफूलाई विद्यालय छुट्टीपछि १२ बजे कार्यालयमा एक्लै भेट्न आउनु भनेको बताउँदै उनले भने,‘मेरा दुई जना दाइलाई साक्षी राखेर प्रधानाध्यापक धनीदत्तले अब तिम्रो र मेरो दुवैको जागिर पनि जान्छ, दुवै जेल जान्छौँ । हामी मिल्नुपर्छ । त्यसैले तिमीले मैले भनेबमोजिम विज्ञप्ति लेख भनेर भन्नु भयो । मैले पनि उहाँले नै भनेबमोजिम विज्ञप्ति लेखेर करकापमा हस्ताक्षर गरेँ । घर गएपछि खुस सोचेँ जे सही कुरा हो त्यही फेरि लेखिदिनुपर्छ भन्ने सोचेर आफ्नै हातले लेखेर दोस्रो विज्ञप्ति लेखेको हुँ ।’ उनले आफूले पहिले लेखेको विज्ञप्ति विद्यालयमा प्रधानाध्यापकले परिबन्धमा पारेर लेख्न बाध्य बनाएको बताए ।
‘मलाई जागिर जान्छ, दुवै बच्नुपर्छ भनेर प्रभावमा पार्दै पहिलो विज्ञप्ति लेख्न लगाइयो,’ उनले भने,‘दोस्रो विज्ञप्ति मेरो आफ्नै सोच, विवेकले लेखेको हो, जसमा म दोषी थिएन । जे थियो त्यही लेखेर मैले नै बाहिर ल्याएको हुँ ।’ आफू कक्षा १२ का परीक्षा दिएर बसेको बताउँदै उनले भने,‘पियनको जागिरका लागि कक्षा ८ को योग्यता भए पनि मैले मेरो गरिबी र मजवुरीका लागि कक्षा १२ को परीक्षा दिएर बसेको मान्छे । अनि कम्प्युटरमा दख्खल भएको मान्छेले कहिँ कतै राम्रो जागिर नभएका कारण पियन पदमा दरखास्त दिएको हुँ, तर आज त्यही नखाएको विष उल्टै प्रधानाध्यापक र केही टाठाबाँठाले लगाउन खोज्दैछन् ।’
आफू जुनसुकै ठाउँमा गए पनि सही कुरा भन्न सक्ने बताउँदै उनले भने,‘म गलत छैन, सुरुमा प्रधानाध्यापक भट्टले आफू काठमाडौं रहेको र उपचारका लागि पैसा चाहिएकाले लेखापाललाई आफ्नो नामबाट ३० हजार रुपैयाँ पेश्की लिएर मसुरियामा रहेको अनुप पुस्तक पसलमा छोडिदिनु भन्नु भयो, त्यही अनुसार म छोड्न गएँ । तर, त्यहाँ अनुप पुस्तक पसलका दाजुले गौतम थरका व्यक्तिको नाममा रहेको खातामा पैसा पठाइदिनु भयो ।’
घुस काण्ड बाहिर आएपछि प्रधानाध्यापक भट्टले लेखा शाखामा पियनका नाममा लिइएको पेश्कीको कागजात च्यातचुत पारेर आफ्नो नाममा पेश्की लिएको देखाइसकेका छन् । स्रोतका अनुसार,‘प्रधानाध्यापक धनीदत्तले सब कागजात मिलाइसकेका छन्, पियनको नाममा लिइएको पेश्कीको कागजात च्यातचुत पारेर आफ्नो नाममा देखाइसकेका छन् ।’ तर, धनीदत्तले पैसा मगाउँदा आफ्नो बैंक खातामा नमगाएर किन गौतम थरका व्यक्तिको नाममा मगाइयो । यो पनि रहस्यमयी रहेको छ । ‘धनीदत्तले आफ्नो नाममा पैसा नमगाई गौतम थरका व्यक्तिको वैंक खातामा मगाएका छन्,’ स्रोतले भन्यो,‘यो पनि उनले बडो चलाखी खेलेका थिए, तर अन्ततः सबै कुरा बाहिरियो ।’
आफ्ना नानीबाबुहरु त्यही विद्यालयमा पढ्ने गरेको बताउँदै सिद्धराज जोशीले भने,‘मेरा छोराछोरी सबै जनप्रिय माध्यामिक विद्यालयमै पढ्छन् । यहीँका प्रधानाध्यापक यस्ता घुसखोरी हुँदा उनले पढाउने मेरा छोराछोरीले के शिक्षा सिक्लान् ?’ विद्यालयमा प्रधानाध्यापकले घुस खाएको कुराले तालाबन्दी हुँदा विद्यार्थीको कलिलो मस्तिस्कमा कस्तो असर परेको होला भन्दै प्रतिप्रश्न गर्दै अर्का अभिभावक सिद्धराज भण्डारीले भने,‘यो भन्दा ठूलो लज्जास्पद कुरा के छ र अब ?’ घुसकाण्डमा मुछिएका प्रधानाध्यापकको राजिनामा नहुन्जेलसम्म अभिभावकहरु पनि आन्दोलित भइरहने बताउँदै उनले भने,‘यस्ता घुसखोरी शिक्षकबाट हाम्रा छोराछोरीले कस्तो शिक्षा हासिल गर्लान् ? हामी घुस खाने शिक्षकलाई कदापि स्वीकार्दैनौँ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर चौधरीले आफूसँग पियन कृष्ण चौधरीका दाजुले प्रधानाध्यापकले पैसा मागिरहेको बताएको उध्रृत गर्दै भने,‘कृष्ण चौधरीले प्रधानाध्यापकले ३० हजार रुपैयाँ मागिरहेका छन् भनेर भनेकै हुन्, मैले नदिनु भनेको हुँ । तर, उनले पछि ३० हजार रुपैयाँ पठाएको बुझिएकाले हामी पनि चकित परेका छौँ ।’ घुस काण्डले विद्यालयमा तालबन्दी भएका कारण पठन पाठन बन्द रहेकाले त्यसलाई सुचारु गरी हामी चाँडोभन्दा चाँडो निकास निकाल्नका लागि तयार रहेको उनले बताए ।
‘हामीले प्रधानाध्यापकलाई पदच्यूत गर्ने भनेका थियौँ, तर कानुनी प्रावधान के रहेछ भनेर बुझिरहेका छौँ,’ उनले भने,‘अब यो मुद्धालाई हामीले गौरीगंगा नगरपालिकाको जिम्मामा लगाउँदै आवश्यक सहयोगका लागि तयार छौँ ।’
घुस काण्डमा मुछिएका प्रधानाध्यापक धनीदत्त भट्टले आफूले पियनसँग पैसा मगाएको स्वीकार्दै भने,‘म औषधोपचारका लागि काठमाडौंमा थिएँ, पियन कृष्णसँग मैले ३० हजार रुपैयाँ मगाएकै हुँ ।
त्यो समयमा विद्यालय बन्द थियो, बन्दको बेला मैले कार्यालयबाट ३० हजार रुपैयाँ लेखापालबाट लिएर पुस्तक पसलमा दिइदिनु र त्यहाँबाट पठाइदिन्छन् भनेकै हो ।’ आफूले घुस बापत पैसा भने नलिएको उनले बताए । ‘मैले जागिर लगाएबापत पैसा लिएको हैन,’ उनले भने,‘मैले उपचारका लागि पैसा अपुग भएका कारण कार्यालयका लेखापालबाट पैसा लिएर पठाइदिनु भनेकै हो, यसलाई बङ्ग्याइयो ।’ प्रधानाध्यापकको कुरालाई काट्दै एक अभिभावकले भने,‘यदि पैसा मगाइएको भए किन आफ्नो खातामा नमगाई गौतम थरका व्यक्तिको बैंक खातामा मगाइयो ? यो शंकास्पद कुरा छ ।’
स्रोतका अनुसार कार्यालय सहयोगीदेखि लिएर अन्य निजी शिक्षककको पदपूर्तिका लागि खोलिएको दरखास्त आह्वानमा पैसाको चलखेल भएको छ । स्रोतले भन्यो,‘पियनलाई पनि सुरुमा केही पैसा परीक्षा लिँदा दिनुपर्ने र लाग्ने खर्च व्यहोर्नुपर्ने बताइएको थियो । जसअनुसार प्रधानाध्यापकदेखि विद्यालय निरीक्षक हरिष पन्तसम्मलाई मिलाउनु पर्ने बताइएको थियो । सोही अनुसार यो घुस काण्ड विद्यालयका प्रधानाध्यापकदेखि लिएर नगरपालिकाका शिक्षा शाखाका प्रमुखसम्म ठोक्किएको छ ।’ शिक्षा शाखा प्रमुख पन्तले पैसा पाए पनि नपाएपनि उनको नाम पनि घुस काण्डमा मुछिएको बताउँदै स्रोतले भन्यो,‘यस काण्डमा सबै मुछिएका छन् । सबैमाथि छानबिन हुनु जरुरी छ ।’
घुस काण्ड बाहिरिएसँगै विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् भने अभिभावकहरु भने यस्ता शिक्षकबाट आफ्ना छोराछोरीले कस्तो शिक्षा पाउलान् भनेर चिन्तित छन् ।