धनगढी, १६ साउन । सोमबार सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो।
महाशाखाका अनुसार सुदूरपश्चिमसँगै प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित छ। देशका प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज देशभर सामान्य देखि पूर्ण बदली रही दिउँसो देशका धेरै स्थामा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। राती देशका पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
