धनगढी, २९ असार/देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै धनगढीको सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपीए कलेज)ले राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा बुधबार आयोजित एक भव्य कार्यक्रममाबीच एसपीए कलेजलाई उक्त सम्मान प्रदान गरियो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायलाई उक्त सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
फोकस नेपाल नामक संस्थाले देशभरिकै शैक्षिक संस्थाहरुबीच भएको प्रतिस्पर्धाबाट एसपीए उत्कृष्ट १३ कलेजभित्र परेको हो । लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, भौतिक पूर्वाधार, दक्ष र अनुभवी अध्यापक, प्राध्यापकहरु, समयानुकुल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गरे नगरेको र विगतको परीक्षाको नतिजालाई प्रमुख आधार बनाएर उक्त अवार्ड प्रदान गरेको हो ।अवार्ड ग्रहण गर्दै उपाध्यायले २५ वर्ष लामो शैक्षिक इतिहास बोकेको एसपीए कलेजले यो सम्मान पाउँनु समग्र सुदूरपश्चिमका लागि नै गर्विलो क्षण भएको बताउँनुभयो ।
‘सम्मानका लागि सुदूरपश्चिमसँगै देशभरिकै कलेजबीच प्रतिस्पर्धा भएको थियो । त्यसमा सबै मानकहरुमा अब्बल ठहरिदै एसपीए कलेज देशकै उत्कृष्ट कलेजमा पर्न सफल भएको छ,’ उपाध्यायले भन्नुभयो, ‘स्मार्ट एसपिएन बनाउँने हाम्रो अभियानमा यो कोशेढुंगा सावित हुनेछ । यस सफलतालाई आत्मसात गर्दै सुदूरपश्चिम र देशकै शैक्षिक क्षेत्रमा अब्बल कलेजका रुपमा स्थापित हुने बाटोमा हामी प्रयत्नरत छौं ।’झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।
कलेजमा पूर्ण पमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुन कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ । सुदूरपश्चिममा एकमात्रै आफ्नो होटल म्यानेजमेन्टको प्रयोगशाला भएको कलेज पनि एसपीएमात्रै हो । कलेजको आफ्नै बेकरी क्याफे सञ्चालनमा आउने तयारीमा समेत छ । टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ । विभिन्न १५ वटा क्लबहरु गठन गर्दै विधार्थीहरु अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन् । कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययन गरिरहेका छन् । त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।