कञ्चनपुर, १८ असोज / कञ्चनपुरमा जुवाखालबाट प्रहरीले ५ जुवाडेलाई पक्राउ गरेको छ । गयराती पुनर्वास नगरपालिका–१ पुरैनास्थित कच्ची सडकमा त्रिपाल ओछ्याएर भइरहेको जुवाखालमा प्रहरीले छापा हान्दा ५ जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका जगतबहादुर धामी, धनगढी उपमहानगरपालिका–४ का विक्रम विष्ट, धनगढी–१२ जुगेडाका प्रेमबहादुर सिंह, बझाङको बुंगल नगरपालिका–११ का कृष्ण बोहरा र पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीका सुरेश तामाङ रहेका छन् । उनीहरूको साथबाट २० हजार ९१० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।
अन्य केही जुवाडे भने कार तथा मोटरसाइकल छाडेर भागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले बताए । विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले राति करिब २ बजे सो ठाउँमा छापा हानेको थियो ।