कञ्चनपुर, १७ असोज / कञ्चनपुरको प्रशिद्ध दोधारा चाँदनीको झोलुङ्गे पुल पुनर्निर्माण गर्न करिब एक वर्ष लाग्ने देखिएको छ । पुलमा क्षतिको अध्ययन गर्न पुगेको प्राविधिक टोलीले यस्तो बताएका हुन् ।
पुलमा क्षतिको अवस्था र कारणबारे स्थलगत अध्ययन गर्न संघ र प्रदेश सरकारले प्राविधिक टोली पठाएको थियो । सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा रहेको टोलीले शुक्रबार पुलको स्थलगत अध्ययन गरेको छ । अध्ययनका क्रममा पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको पाइएको अधिकारीले बताए ।
उनका अनुसार महाकाली नदीमा आएको तीव्र बहावका कारण पिल्लरको फाउन्डेसन आसपासको माटो तथा संरचना बगाउँदा पुलमा क्षति पुगेको देखिएको छ । ‘अहिले पानी धेरै छ , ढलेको पिल्लरसँगै दुई वटा पिल्लर पनि नयाँ बनाउनुपर्ने अवस्था आउनसक्ने देखिएको छ,’ अधिकारीले भने, ‘बाँकी संरचना पनि कमजोर देखिए खोल्दै पुन: फिट गरेर निर्माण गर्नुपर्ने भएकाले समय लाग्ने देखिन्छ ।’
पुल पुनर्निर्माणका लागि प्रदेश सरकारको मात्रै स्रोत पर्याप्त नहुने भएकाले संघीय सरकारको समेत सहयोग आवश्यक पर्ने अधिकारीले बताए । सरकारले छिट्टै बजेट व्यवस्थापन गरेर निर्माण प्रक्रिया अघि बढाएपनि पुल पूर्णरूपमा पुनर्निर्माण गर्न करिब एक वर्ष लाग्न सक्ने उनको भनाइ छ ।
क्षतिग्रस्त संरचनाको विस्तृत अध्ययनपछि आवश्यक लागत, निर्माणको विधि र प्रक्रियाबारे थप निर्णय गरिने अधिकारीले बताए । महाकाली नदीमा आएको बाढीले असोज १४ गते पुलको एक भागमा क्षति पुर्याएपछि दोधारा चाँदनी र भीमदत्तनगरबीचको नियमित आवागमन बन्द छ ।
यसअघि पनि प्राविधिक टोलीले पुलको क्षतिको प्रारम्भिक अध्ययन सुरु गरेको थियो ।