गेटा आँखा अस्पतालको प्रशासन विरुद्ध असन्तुष्ट रहेका स्थानीयले केन्द्रीय टोलीलाई मागपत्र बुझाए, ३ दिनभित्र समाधानको आश्वासन

धनगढी, २३ जेठ / गेटा आँखा अस्पतालमा देखिएको भनिएको प्रशासनिक बेथिति, कर्मचारीमाथिको दमन तथा व्यवस्थापनको कार्यशैलीविरुद्ध संघर्षरत स्थानीयहरूले नेपाल नेत्र ज्योति संघका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष श्याम पोखरेल नेतृत्वको केन्द्रीय टोलीलाई आज धनगढीमा मागपत्र बुझाएका छन्।
गोदावरी नगरपालिका–५ स्थित गेटा आँखा अस्पतालमा कर्मचारी तथा स्थानीय सरोकारका विषयहरू लामो समयदेखि उठ्दै आए पनि अस्पताल प्रशासन र व्यवस्थापन समितिले समस्या समाधानमा गम्भीरता नदेखाएको आरोप स्थानीयवासीहरूको छ। यही विषयलाई लिएर हालै गठित संघर्ष समितिले विभिन्न मागहरू अघि सारेको हो।

संघर्ष समितिका सह–सचिव गिरिराज भण्डारीका अनुसार मागपत्र बुझ्दै नेपाल नेत्र ज्योति संघका कार्यवाहक अध्यक्ष पोखरेलले तीन दिनभित्र समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता गरेको बताए।
यसअघि गोदावरी नगरपालिकाभित्र स्थायी बसोबास गर्ने समाजसेवी, ज्येष्ठ नागरिक तथा बुद्धिजीवीहरूको बृहत् भेलाले गेटा आँखा अस्पतालमा देखिएको बेथितिविरुद्ध संघर्ष समिति गठन गरेको थियो।
स्थानीयहरूले अस्पतालमा कर्मचारीमाथिको प्रशासनिक दमन अन्त्य गर्नुपर्ने, उमेर हद नाघेका कर्मचारीहरूको अवकाश, नेपाल नेत्र ज्योति संघको आजीवन सदस्यता खुला गर्नुपर्ने, व्यवस्थापन समितिमा ५० प्रतिशत स्थानीय सहभागिता सुनिश्चित गर्नुपर्ने, आजीवन सदस्यता शुल्क न्यूनतम बनाउनुपर्ने तथा अस्पतालमा पर्याप्त चिकित्सकको पदपूर्ति गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।
संघर्ष समितिले मागपत्रमा उल्लेखित विषयहरू तीन दिनभित्र सम्बोधन नभए चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ। आन्दोलनका कारण उत्पन्न हुन सक्ने कुनै पनि प्रकारको क्षति वा असहज परिस्थितिको जिम्मेवारी अस्पताल व्यवस्थापन समिति, अस्पताल प्रमुख तथा प्रशासनले लिनुपर्ने पनि संघर्ष समितिको भनाइ छ।
सह–सचिव भण्डारीले स्थानीयहरूको जायज मागलाई बेवास्ता गरिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिएका छन्। गेटा आँखा अस्पताल सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य संस्थामध्ये एक मानिने भएकाले यसको व्यवस्थापन र सेवाप्रवाहलाई पारदर्शी तथा उत्तरदायी बनाउनुपर्नेमा स्थानीयहरूले जोड दिएका छन्।
यस अगाडि सम्प्रेषण गरिएका सामाग्री :-
स्वीकारेन गेटा आँखा अस्पताल प्रशासनले आफ्नो कमजोरी, उल्टै कर्मचारीहरुलाई विभिन्न आरोप लगायो 

गेटा आँखा अस्पतालमा चन्द, भट्ट र जोशीको शासन