धनगढी १९ साउन/साउन महिना सुरु भएयता दिन प्रतिदिन कोरोना संक्रमण बढ्न थालेपछि सुदूरपश्चिम प्रदेश सरकार रोकथाम तथा व्यवस्थापनमा जुटेको छ।साउन १ गते सुदूरपश्चिम प्रदेशमा ३ जनामा देखिएको संक्रमण दैनिक बढ्दै साउन १८ सम्म पुग्दा दैनिक ५४ जनामा देखिएको छ। यसरी दैनिक संक्रमण तीव्र रुपमा बढेपछि प्रदेश सरकार नियन्त्रण र व्यवस्थापनमा जुटेको हो।
अहिले कोरोना संक्रमण रोकथामको तयारी स्वरुप प्रदेश सरकारले सीमा नाकामा कडाइका साथ चेकजाँच गर्ने, अस्पतालमा रहेका आइसीयु तथा भेण्टिलेटरलाई तयारी अवस्थामा राख्ने, जनशक्तिको व्यवस्थापन गर्ने काम गरिरहेको बताएको छ।यसै क्रममा बिहीबार प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा कोरोना संक्रमण रोकथामबारे प्रदेश सरकारले गरिरहेको कामबारे सञ्चारकर्मी र स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गरेको छ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख दयाकृष्ण पन्तका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्न थालेपछि बिहीबार सामाजिक विकासमन्त्री गोविन्द बोहराले गौरीफण्टा नाकाको अवस्थाबारेमा स्थलगत अनुगमन गरेका छन्।सीमा नाकामा अनुगमन गर्दै मन्त्री बोहराले नाकाबाट भित्रिने सबै नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएका छन् भने स्वास्थ्य परीक्षणमा खटिएका स्वास्थ्यकर्मीको अवस्था र त्यहाँको समस्याका बारेमा समेत जानकारी लगेका छन्।
मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बोहराले संक्रमण दिन प्रतिदिन बढ्दो क्रममा रहेकाले प्रदेश सरकार गम्भीरताका साथ यसको रोकथाम र व्यवस्थापनमा लागेको बताए। उनले साउनयता बढ्दै गएको संक्रमणलाई मध्यनजर गरी भारतीय सीमासँग जोडिएका कैलाली र कञ्चनपुरमा विशेष सर्तकता अपनाइएको बताए। मन्त्री बोहराले सबैले सचेत भएर सामूहिक रुपमा रोकथाम र नियन्त्रणका लागि लाग्नुपर्ने बताए।हाल प्रदेशका ९० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो खोप लगाएका र ७५ प्रतिशत नागरिकले पूर्ण खोप लगाउनुका साथै ३५ प्रतिशत नागरिकले बुस्टर डोज लगाएको सामाजिक विकास मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख दयाकृष्ण पन्तले बताए।
‘कोरोनाको संक्रमण बढ्न थालेपछि नागरिकलाई कोरोनाको बुस्टर डोज लगाउन हामीले फेरि आह्वान गरिरहेका छौँ,’ पन्तले भने, ‘सबै अस्पतालमा रहेका आइसोलेसन सेन्टर, आईसीयु वेड र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौँ।’उनले कैलालीस्थित सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली प्रादेशिक अस्पतालसहित अधिकांश पहाडी जिल्लाका जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट पनि जडान गरेकाले पहिलो र दोस्रो चरणको कोरोना संक्रमण फैलिँदा जस्तो अक्सिजनको अभाव नहुने बताए।
पन्तका अनुसार सुदूरपश्चिममा १८ वर्षदेखि माथिका लागि १० लाख ६३ हजार डोज र १२ देखि १७ वर्ष उम्मेर समूहका लागि ६० हजार डोज कोभिडविरुद्धको खोप आवश्यक रहेको छ। यसका लागि सम्बन्धित निकायमा माग गरिसकिएको भन्दै उनले सो खोप आगामी ७–८ दिनमा उपलब्ध हुने आश्वासन प्राप्त भएको बताए।सुदूरपश्चिमका विभिन्न अस्पतालमा हालसम्म कोभिडका लागि १ हजार २७४बेड तयारी अवस्थामा रहेका छन् भने आवश्यकताअनुसार बेडको संख्या थप गर्न सकिने उनले बताए। योजना महाशाखा प्रमुख पन्तका अनुसार कोभिड संक्रमण व्यवस्थापनका लागि निर्माण गरिएका होल्डिङ सेन्टर व्यवस्थापन, कोभिड–१९ रोकथाममा खटिएका कर्मचारीको व्यवस्थापन तथा जनस्वास्थ्यका मापदण्डको पालना गराउनु अहिलेको चुनौती रहेको छ।
सेती प्रादेशिक अस्पतालका डाक्टर निराजन शर्माले पहिलो पटक कोरोना संक्रमण फैलिँदा जनशक्ति, मेसिनरी सामाग्री तथा अन्य रोकथामका सामाग्रीको अभाव रहेका कारण धेरै समस्या भए पनि हाल स्वास्थ्य क्षेत्रमा धेरै प्रगति भएको बताए।‘सबै जिल्लामा अक्सिजन प्लान्ट जडान गरिएका छन्,’ शर्माले भने, ‘आईसीयु तथा भेन्टिलेटरको पनि व्यवस्था भएको छ। छोटो समयमा स्वास्थ्य क्षेत्रमा भएको यो प्रगतिले आगामी दिनमा हामीलाई काम गर्न सजिलो हुनेछ।’ उनले स्वास्थ्य उपकरणको व्यवस्था भए पनि दक्ष जनशक्ति नहुँदा समस्या रहेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए।