धनगढी, १६ साउन/ कैलालीकोगौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयमा कार्यालय सहयोगी राख्ने नाममा प्रधानाध्यापकले ३० हजार रुपैयाँ घुस लिएको खुलेको छ । प्रधानाध्यापक धनीदत्त भट्टले कार्यालय सहयोगी राख्न ३० हजार रुपैयाँ लिएको प्रमाणसहित फेला परेको हो ।
विद्यालय व्यवस्थापन समितिको गत जेठ २४ गतेको निर्णयअनुसार विद्यालयका आन्तरिक स्रोतबाट तलबभत्ता पाउने गरी जेठ २४ गतेकै दिन दरखास्त आह्वान गरिएको थियो । उक्त दरखास्तमा लिक्मा गाउँका कृष्ण चौधरीले आवेदन दिएका थिए । दरखास्त आह्वानमा कृष्णबाहेक अन्यको आवेदन परेको थिएन । तर, पनि विद्यालयका प्रअले कृष्णलाई जागिर लगाइदिने भन्दै ३० हजार रुपैयाँ घुस लिएका हुन् ।
आफू उपचारका लागि काठमाडौं गएकाले मसुरिया साझा बजारको एक पुस्तक पुस्तक पसलेलाई प्रअ भट्टले आफ्नो एक जना मानिसको हातमा ३० हजार रुपैयाँ पठाइदिन आग्रह गरे । पुस्तक पसलेलाई उध्रित गर्दै स्रोतले भन्यो–‘कार्यालय सहयोगी कृष्ण चौधरीले तपाईलाई आएर ३० हजार रुपैयाँ दिन्छ, अहिल्यै तुरुन्तै मलाई तपाई पैसा पठाइदिनुस् ।’ तर, त्यही बेला पुस्तक पसलेले आफूसँग पैसा नभएकाले छिमेकी पसलेलाई पैसा दिइदिन आग्रह गरे । उनीसँग पनि नगद नभएका कारण मोबाइल बैंकिङमार्फत् प्रअले भनेको ‘गौतम’ व्यक्तिको बैंक खातामा ३० हजार रुपैयाँ पठाएका थिए । कार्यालय सहयोगीले साउन १४ गतेका दिन उक्त पुस्तक पसलमा गई नगदी रसिद कटाएर ३० हजार रुपैयाँ बुझाए ।
यस सम्बन्धी विद्यालयका प्रधानाध्यापक भट्टको प्रतिक्रिया लिँदा आफूले कसैबाट पैसा नलिएको बताए पनि आफू बिरामी हुँदा कसैबाट सापटी लिने कुरा अलग भएको स्वीकार्दै भने,‘म बिरामी हुँदा कसैबाट ३० हजार रुपैयाँ सापटी लिने कुरा अलग हो, तर जागिर लगाउने नाममा भने पैसा लिएको छैन ।’
- (नोटः यस सम्बन्धी अडियो रेकर्ड, नगदी रसिद तथा अन्य प्रमाण हामीसँग सुरक्षित छ ।)