सुदूरपश्चिम सरकारले मिडियालाई कब्जामा राख्न खोज्यो : प्रेस युनियन

धनगढी २८ साउन- सुदुरपश्चिम सरकारले एफएम रेडियो तथा टेलिभिजन प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रति नेपाल प्रेस युनियन कैलालीले आपत्ती जनाएको छ । बुधबार सुदूरपश्चिम प्रदेश सभाबाट उक्त विधेयक पारित भएको थियो ।
विधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता एवम् अभिव्यक्ति स्वतन्त्रता कार्यान्वयनका लागि विभिन्न ऐन कानून निर्माण परिमार्जनका लागि नेपाल प्रेस युनियन कैलालीले गम्भीरतापूर्वक चासो व्यक्त गर्दै बिमति राख्दै आईरहेको थियो । तर, प्रदेश सभाबाट विधेयक पास गरेपछि नेपाल प्रेस युनियन कैलालीले बिज्ञप्ती प्रकाशित गर्दै बिरोध जनाएको छ । नेपाल प्रेस युनियन कैलालीका सचिव सिताराम ओझाद्वारा बुधबार बिज्ञप्ती प्रकाशित गर्दे कानून निर्माणमा सरकार र संसद एकतर्फी ढंगले अगाडी बढिरहेकोमा युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सुदुरपश्चिम सरकारले एफएम रेडियो तथा टिभि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा रहेका संविधान तथा प्रेस स्वतन्त्रताका विश्वव्यापी मान्यता विरोधी प्रावधानहरुलाई सच्याउन युनियनले पटक पटक माग गर्दैै आइरह पनि ती मागहरुको सुनुवाई नगर्दै मिडियालाई आफ्नो कब्जामा लिने नियतले संसदबाट पारित गरेको भन्दै युनियन खेद प्रकट गरेको छ ।
विधेयकका केही बुँदाहरु संशोधन गर्नुका साथै केही बुँदाहरु थप गर्न सुझाव दिईएकोमा केही बुँदालाई आंशिक रुपमा सम्बोधन गरिए पनि पत्रकारलाई सरकारी निकायबाट जाँच गराई मात्रै समाचार लेख्न पाउने जस्ता प्रावधानहरु राखिएकोमा युनियनको गम्भीर असहमति रहेको युनियनको ठहर छ ।
उक्त बिधेयक प्रेस स्वतन्त्रता विरोधी भएकाले यसमा युनियन गम्भीर असहमति प्रकट गर्दै सो प्रावधान तत्काल सच्याउन माग समेत युनियनले गरेको छ । बिधेयक सरकारले नसच्याए संविधानको मूल मर्म, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास र अन्तर्राष्ट्रिय मान्यता विपरीत गठन हुने विधेयकलाई प्रेस युनियन बिरोध गर्नको साथै अस्वीकार समेत चेतावनी दिएको छ ।